काठमाण्डु, ३० जेठ– जसपानेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ ।
जनकपुरमा जारी महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियामा हालसम्मको विवरणअनुसार जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
यस्तै सहअध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत, रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा रामकुमार शर्मा, मनिष सुमन, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । रामकुमार शर्मा हालै माओवादीबाट जसपा नेपालमा प्रवेश गरेका छन् ।
त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी परेको स्रोतले जानकारी दिएको छ । जसपा नेपालका एक नेताले हालसम्म अध्यक्षमा यादवको मात्रै उम्मेदवारी परेको जानकारी दिँदै समय अझैँ बाँकी रहेपनि सो पदमा अरूको दाबी नदेखिएको जानकारी दिएका छन ।
जसपा नेपालको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय पदाधिकारी २० जना हुनेछन् भने त्यसमा खुला १६ जना र चार जना महिला अनिवार्य हुने व्यवस्था रहेको छ । यस्तै केन्द्रीय सदस्य १८१ जनामध्ये खुला १२१ जना छन् भने ६० जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ ।