काठमाण्डु, २८ जेठ– आगामी आर्थिक वर्ष ०८१/८२ का लागि कोशी प्रदेश सरकारले बजेट निर्माणको अन्तिम तयारी गरेको छ ।
बजेट निर्माणको अन्तिम तयारी भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन ।
उनले भने, ‘संघीय सरकारले बजेट ल्याइसकेको छ । बजेटका अनुमानित स्रोतहरूको अनुमान पनि आइसकेको छ,’ खड्काले भने, ‘अब प्रोभिन्सियल लाइन मन्त्रालय बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा योजनाहरू समाविष्ट गर्ने काम सुरु हुन्छ ।’
यस पटकको बजेट भने विगत दुई वर्षको भन्दा सानो आकारको हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । संघीय सरकारले राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदानबापत सात वटै प्रदेशहरूलाई ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
जसमा कोशी प्रदेशले १४ अर्ब ५४ करोड २६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । यस्तै वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ र सशर्तमा चार अर्ब १६ करोड ४३ लाख रुपैयाँ, विशेष अनुदान ७८ करोड १ लाख रुपैयाँ र समपूरक अनुदान ६५ करोड ५० लाख रुपैयाँ गरी २९ अर्ब १० करोड ५२ लाख रुपैयाँ सुनिश्चित भएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार उठाउने लक्ष्य राखेको छ । उक्त लक्ष्यमा पनि ८० प्रतिशत कमी आउने अर्थ मन्त्रालयको अनुमान छ ।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले सोही अनुसारको राजस्व लक्ष्य राख्दा पनि बजेटको आकार ३३ अर्ब ६८ करोड हाराहारी पुग्ने अनुमान छ ।