नगर प्रहरी कुट्नेलाई छाड्न माग गर्दै विद्यार्थीले एउटा गाडी जलाए

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गर्ने समूहलाई छाड्न माग गर्दै विद्यार्थीको समूहले विराटनगरमा सरकारी गाडी जलाएका छन । आज आइतबार बिहान प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी उनीहले जलाएको प्रहरीले जानकारी दिएको छ ।

विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेको प्रहरीले जानकारी दिएको छ । बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो ।

सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । उनीहरु सबै नेविसंघका हुन् । विद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए ।

आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे । आजगनीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेका थिए ।

रंगेलीमा निजी विद्यालयले मनोमानी शुल्क लिएको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते नेविसंघले ज्ञापन पत्र बुझाएका थिए । तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूह बिहीबार हातपातमा उत्रिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us