प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज  (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे भएको वालुवाट उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदैछन् ।

मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालका लागि शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us