काठमाण्डु, २७ जेठ– कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाण्डुको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन । प्रहरीले उनलाई जेठ १८ मा पश्चिम चितवनबाट पक्राउ गरेको थियो ।
पश्चिम चितवनमा उनी फ्ल्याट लिएर बसेको अवस्थामा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन ।
कान्तिपुर सेभिङ्ग र पशुपति सेभिङ्गको बचत रकम अपचलन गरेर फरार भएका उनीविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो । कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सो बिगो कायम गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्दा दायर गरिएको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए । लामा सहितका सञ्चालकविरुद्ध ८५२ जना बचतकर्ताले जाहेरी दिएका छन् ।
पूरक जाहेरी आउने क्रम जारी रहेको डीएसपी बुढाथोकीले जानकारी दिएका छन । सहकारीको रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् । ५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् ।
निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।
प्रेमध्वज लामा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका स्थानीय हुन् । जोगलाल पनि काभ्रेको तेमाल–५ का स्थानीय हुन् । सानुकान्छा लामा ९५२ वर्षीय० तेमाल गाउँपालिका वडा नम्बर–५ का हुन् ।