एमालेसँग तत्काल एकताको सम्भावना देखिएन: माधव नेपाल

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल एमालेसँग एकताको कुनै सम्भावना नभएको बताएका छन ।

आज (शनिबार) पार्टी मुख्यालय आलोकनगरमा एकीकृत समाजवादी कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको पनि बताएका छन । अध्यक्ष नेपाले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताएका छन ।

उनले भने, ‘हिजोको कुरा पनि बिर्सौं ठिक छ, तर अहिले एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि ।’ उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह पनि गरेका छन ।

नेपालले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको समेत बताए । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरूको रहेको र सोहीअनुसार अघि बढिरहेको बताएका छन । अध्यक्ष नेपालले भने, ‘अहिले सँगै मोर्चा बनाएर अघि जाऔँ भन्ने प्रस्तावसँगै विभिन्न दलसँग कुरा भइरहेको छ । समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह पनि सकारात्मक देखिनुभएको छ ।

उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिटै अर्को समाजवादी मोर्चा समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us