बजेट प्रभावकारी बनाउन के–के सच्याउनुपर्छ सरकारसँग कुरा भइरहेको छ: ओली

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:२० मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सच्याउनका लागि सरकारसँग कुरा भईरहेको जानकारी दिएका छन । आज शनिबार काठमाण्डुमा भएको पार्टीको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो जानकारी दिएका हुन ।

उनले बजेटलाई रोजगारमुखी बनाउन, उत्पादन र औद्योगिक विकास लगायतका विषयहरूमा बजेट परिमार्जनका विषयमा छलफल भइरहेको पनि बताएका छन । उनले भने, ‘अब पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने बाटो लिनुपर्छ तर मुख्य रूपमा आफूले विकास गर्ने हो । पुँजीको सिर्जना गर्ने हो, उत्पादनबाट विकास गर्ने हो ।

त्यस कामतिर लाग्नुपर्छ । यस सन्दर्भमा सरकारसँग मेरो कुरा भइरहेको छ । वर्तमान बजेटको सन्दर्भमा, त्यसको कार्यान्वयन र प्रभावकारिताका सन्दर्भमा, त्यसलाई प्रभावकारी ढङ्गले लैजान के के सच्याउनुपर्छ, ती कुराहरूको सन्दर्भमा कुरा गरिरहेको छु ।’

उनले कृषिमा आधारित उद्योग र अन्य उद्योगहरू कृषिको आधुनिकीकरण त्यस्तै औद्योगिक आधुनिकीकरण, उत्पादन र उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु कति गर्न सकिन्छ त्यसले औद्योगिकीकरण भविष्य निर्धारण गर्ने पनि बताएका छन ।

उनले ६० प्रतिशत जनसङ्ख्या निर्भर रहेको कृषिको औद्योगीकरण र व्यवसायीकरण गर्न सकिएन भने कृषि क्षेत्र हिजोको अवस्थामा रहने र अगाडि जान नसक्ने उल्लेख गरे । उनले आफ्नो बाल्यकालका बेला नुन बाहेक अरू केही किन्न नपर्ने स्थिति रहेको र पैसा पनि नभएको बताएका छन ।

आफ्नै बारी, आफ्नै खेत, आफ्नै गाई, आफ्नै मकै, धान, तोरी, दूध घिउ, आफ्नै बारी आफ्नै सब्जी जस्तो अर्थतन्त्र अब नहुने र त्यो समय नरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us