गोसाइँकुण्ड मेला सुरू

काठमाण्डु टुडे २०८१ जेठ २६ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न सुरु गरेका छन ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिएका छन ।

तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिएका छन ।

यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पनि उनले आग्रह गरेका छन । तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताएका छन । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने गरेको छ ।

काठमाण्डुबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ ।

धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउनेसमेतका कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन ।

गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us