प्रविधि र कार्यालय व्यवस्थापनबारे बुझ्न माओवादी प्रवक्ता सापकोटा एमाले मुख्यालय च्यासलमा

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रहेका प्रवक्ता अग्नीप्रसाद सापकोटा एमालेको सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनबारे अध्ययन एमालेको पार्टी कार्यलय च्यासलमा पुगेका छन् ।

आज शुक्रबार दिउँसो सापकोटाले एक घण्टा एमाले कार्यालय सञ्चालनको विषयबारे चासो व्यक्त गरेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन ।

माओवादीका प्रचार विभाग प्रमुखसमेत रहेका सापकोटाले अवलोकनका क्रममा एमालेले प्रयोग गरेको आइटी, सामाजिक सञ्जाल र अफिस सञ्चालनको विषयमा चासो राखेको रिमालले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन ।

रिमालले भने, ‘उहाँ एमालेले आइटीको प्रयोग कसरी गरेको छ भनेर जानकारी लिन आउनुभएको रहेछन् । यस सम्बन्धमा मेरो केही ज्ञान भएकाले प्रविधिको प्रयोग र कार्यालय सञ्चालनको विषयमा जानकारी गराएँ, ‘प्रविधिमा उहाँको पनि चासो रहेछ । आइटी सिस्टम र सोसियल मिडियामा चासो राख्नुभयो ।

आफूले जानेको विषयमा उहाँलाई संक्षिप्तमा बतायौँ । एमालेले अफिस कसरी सञ्चालन गरेको छ भन्ने विषयमा पनि उहाँले चासो राख्नुभयो ।’ एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात् गर्दै चलेको सापकोटाले अनुभव गरेको उपमहासचिव रिमालले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us