म पनि सहकारी पीडित हुँ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या समाधानका लागि प्राधिकरण बनाउनुको विकल्प नभएको बताएका छन ।

आज (शुक्रबार) काठमाण्डुमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले सहकारीमा देखिएका समस्या विद्यमान संरचना भित्रबाट समाधान गर्न नसकिने निष्कर्षमा आफूहरू पुगेको पनि बताएका छन । उनले सहकारीमा कुनै एउटा पार्टी मात्र नभएको बताए ।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू, जसले सहकारी खालेर काम गर्न भनेर सुरु गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ, ‘किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’

उनले सहकारीको सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई भ्रमित गरेर शोषण गर्ने माध्यम जस्तो बनेको बताएका छन ।

विद्यमान संरचनाबाट यसलाई सम्बोधन गर्न नसकिने भन्दै उनले भने, ‘बोर्ड, विभाग सबैलाई केन्द्रिकृत र एकीकृत गरेर एउटा शक्तिशाली प्राधिकरण बनायो भने सहकारी आन्दोलनलाई रिभाइभ गर्न सकिन्छ ।’ केही समयभित्रै प्राधिकरण बनाउने प्रक्रिया अगाडि बढाउने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us