प्रधानमन्त्री प्रचण्डसँग मेयर्स फोरमको छलफल, मेयर बालेन अनुपस्थित

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाण्डु उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन ।

आज (शुक्रबार) प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।

उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले प्रचण्डले भने, ‘तपाईँहरूको फोरमले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी कामको समन्वय सङ्घीय सरकारले गरोस् भन्ने सिफारिस गरेको छ । सोहीअनुसार सरकारले लगानी बोर्डलाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशित गरेको छ ।

लगानी बोर्डको बैठकमा समेत यस सम्बन्धी छलफल भई कार्यान्वयनमा अगाडि बढ्ने निर्णय भएको छ । अब यो काम तीव्रतामा अगाडि बढ्छ ।’ उक्त छलफलमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन भने अनुपस्थित रहेका थिए ।

बालेनले पटकपटक सङ्घीय सरकारको आलोचना गर्दै आएका छन् । छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाण्डु महानगरपालिकाका उपमेयर सुनिता डंगोल लगायत काठमाण्डु उपत्यकाभित्रका नगरपालिकाका मेयर, उपमेयरको प्रतिनिधित्व रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us