काठमाण्डु, २३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसद शिशिर खनालले महिला र वर्गीय उन्मुक्तिको राजनीति गरेको दाबी गर्नेहरुले नै महिलामाथि अपमानजनक टिप्पणी गरेको भन्दै ओलीको प्रतिवाद गरे ।
खनालले मन्त्री श्रेष्ठलाई समानुपातिक सांसद र विदेशीसँग बिहे गरेको भनेर होच्याइएमामा आपत्ति जनाए । ‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाण्डुकी राजकुमारी तिब्बतका राजासँग विवाह गरिन् । जनकपुरकी राजकुमारी अयोध्याका राजासँग विवाह गरे र दुवै पूज्य भए । आज यस्तो जमाना आयो । विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन् । उद्यममार्फत् रोजगारी सिर्जना गरिन् । राजनीतिमा आइन् र मन्त्री बनिन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ खनालले भने, ‘कहिले लुगामा टिप्पणी गरिन्छ । कहिले समानुपातिक सांसद भनेर होच्याउने काम गरिन्छ । कहिले यही सभा हलमा । कहिले बन्द कोठाभित्र ।’
अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठकमा शिक्षा श्रेष्ठलाई लक्षित गर्दै ‘पानी पर्दा कहिलेकहिले माछा बर्सिएझैं शिक्षामन्त्री बनेको भनेर टिप्पणी गरेका थिए । त्यसअघि गृहजिल्ला झापामा पार्टी सम्वद्ध शिक्षकहरुसँगको कुराकानीमा विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको टिप्पणी गरेका थिए ।