काठमाण्डु, २३ जेठ– मधेसका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुने भएका छन् ।
विश्वासको मत सार्ने प्रस्ताव गरेका यादव बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका हुन् । यादव पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् ।
यादवको दल जनता समाजवादी पार्टी विभाजित भएको र सरकारमा सहभागी एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । विधानको धारा १८८ (२) मा मुख्यमन्त्री आवद्ध दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
बुधबार अपराह्न ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएकामा स्वास्थ्यको कारण देखाउँदै मुख्यमन्त्री यादवले आफू उपस्थित हुन नसक्ने पत्र संसद सचिवालयमा दर्ता गराएका थिए । उनले विश्वासको मत लिने कार्यसूची २८ जेठमा राखिदिन भनेका छन् ।
पत्रबारे कानूनी परामर्श भइरहेको सभामुख रामचन्द्र मण्डलले बताए । यद्यपि संविधानमा दल विभाजन भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने स्पष्ट लेखिएका कारण मुख्यमन्त्री यादव स्वतः पदमुक्त हुनेछन् । सत्तारुढ एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सिके राउत नेतृत्वको जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन् ।