
काठमाण्डु, २३ जेठ– काठमाण्डुको चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।
चाबहिल सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मदिरा सेवन गरी गएराति श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएका हुन् ।
त्यसपछि उनले आफैंमाथि समेत आगो लगाएका प्रहरीले जनाएको छ । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु तथा २४, १६ वर्ष र ८ वर्षका छोरीहरूलाई आगो लगाएको बताए । आगलागीबाट जलेका सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार १६ वर्षकी छोरीको शरीरको ८० प्रतिशत र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ । अरुको भने ८ देखि १० प्रतिशत भाग जलेको बताइएको छ ।