कोशी प्रदेश सरकारविरुद्धको रिट श्रेष्ठ र ढकालको इजलासमा

काठमाण्डु टुडे २०८१ जेठ २३ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २३ जेठ– कोशी प्रदेश सरकार गठनविरुद्ध दायर गरेको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीको नियुक्ति बदरको माग गर्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए ।

केदार कार्की गत असोज २७ मा संविधानको धारा १६८ उपधारा ५ अनुसार २७ मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका कार्कीले संवैधानिक व्यवस्थाअनुसार ३० दिनसम्म विश्वासको मत लिएनन् ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले विश्वासको मत नदिएको कारण देखाउँदै २६ वैशाखमा उनलाई पदमुक्त गरेका थिए । उनी पदमुक्त भएसँगै २७ वैशाखमा एमालेका कार्की एमाले, माओवादी र समाजवादीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । प्रदेशसभामा बहुमतका लागि ४७ सिट भए पुग्छ ।

२८ वैशाखमा कार्की मुख्यमन्त्री नियुक्ति खारेजीको माग गर्दै अदालत गएका थिए । रिटमा उनले मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति बदर र मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरेका छन् ।

सोही दिन प्रतिवादीको जवाफ मागेको अदालतले ९ जेठमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us