विश्वासको मत नपाएसँगै पदमुक्त हुँदैछन् मधेसका मुख्यमन्त्री

काठमाण्डु टुडे २०८१ जेठ २३ गते ९:२४ मा प्रकाशित

काठमाण्डु, २३ जेठ– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्री फिर्ता बोलाएपछि यादवले विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रीय सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकारमा एमाले र माओवादीले मन्त्री नपठाएको तथा एमाले नेतृत्वको कोशी सरकारमा सामेल नगराएको लगायत कारण देखाउँदै मधेस सरकार छाडेको थिएन । मुख्यमन्त्रीले विश्वासका मत लिने प्रयोजनका लागि अपराह्न तीन बजे प्रदेश सभा बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ ।

यद्यपि यादवले विश्वासको मत पाउने सम्भावना झिनो छ । मुख्यमन्त्रीले विश्वासको मत नपाएर पदमुक्त भएसँगै सत्तारुढ एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपाले सिके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार गठनको तयारी गरेका छन् । मुख्यमन्त्री यादवको पक्षमा कांग्रेसका २२ र जनता समाजवादी पार्टीका १९ सांसद छन् । १ सय ७ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन चाहिन्छ ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । सत्ता गठबन्धनको पक्षमा ५३ सांसद मात्र छन् । नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक सांसदको समेत समर्थन पाएको सत्ता गठबन्धनले बहुमत जुटाउने करिब निश्चितजस्तै छ । यादव २०७९ पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिन लागेको यो चौथोपटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us