काठमाण्डु, २३ जेठ– भारतीय लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
बुधबार बिहानसम्म सबै ५ सय ४३ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) एनडिए र कँग्रेस आई इण्डिया गठबन्धन बनाएर निर्वाचनको मैदानमा उत्रिएका थिए ।
अघिल्ला दुई निर्वाचनमा लगातार एक्लै बहुमत ल्याएको भाजपाले यसपटक जनमत गुमाएको छ । एनडिए गठबन्धनले २ सय ९५ र इन्डिया गठबन्धनले २ सय ३१ सिटमा जित हात पारेको छ । साना दलले १७ सिट जितेका छन् । निर्वाचनअघि सार्वजनिक भएका एक्जिट पोलहरुले मोदीको जनमत अघिल्ला चिर्वाचनहरुमा भन्दा बढेको प्रक्षेपण गरेका थिए ।
अधिकांश भारतीय मिडियाले मोदीको दल एक्लैले दुई तिहाई सिट जित्ने दाबी गरेका थिए । मोदी स्वयंले ४ सय सिट जितेर आफू तेश्रोपटक प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । परिणामले ती सबै दाबीलाई हावादारी सावित गरिदिएको छ । सन् २०१९ मा सम्पन्न अघिल्लो निर्वाचनमा मोदीको दल भाजपा एक्लैले ३ सय ३ र एनडिए गठबन्धनले ३ सय ५२ सिट जितेको थियो । भाजपा यसपटक २ सय ४० सिटमा खुम्चिएको छ ।
अघिल्लो निर्वाचनमा जम्मा ९४ सिटमा जितेको राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धन यसपटक १ सय ३७ सिट वृद्धि गर्न सफल भएको छ । काँग्रेस आई एक्लैको ९९ सिट आएको छ । जबकि अघिल्लो निर्वाचनमा उसको ५२ सिट मात्र थियो ।
निर्वाचन आयोगका भाजपाले २ सय ४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जनता दल यूनाइटेडले १२, शिव सेनाले ७ तथा लोक जनशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४/४ सिटमा जित हात पारेका छन् ।
यस्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरवालीको आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३ र जनसेनाले दुई सिट जितेका छन् । १७ सिटमा स्वतन्त्र उम्मेदवार र साना दलका उम्मेदवार निर्वाचित भएका छन् ।