काठमाण्डु, २२ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी दिन माग गरेका छन ।
सांसद केसीले आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै यस्तो बताएका हुन । उनले गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको पनि बताएका छन ।
उनले भने, ‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो ।
यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन् ।’ नागरिकहरु त्यस्तो सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए । अगाडि भनेका छन्, ‘यही संसदमा गोप्य सूचना बेच्ने सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने यो अत्यन्त गम्भीर कुरा हो ।
नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो गोप्य सूचना बेच्ने यसको जानकारी चाहियो ।’ उनले यो विषयमा सभामुखले रुलिङ गर्न माग गरेका छन । अगाडि भन्छन्, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो ।
त्यसकारण रुलिङ हुनुपर्यो ।’ यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताएका थिए ।