काठमाण्डु, २२ जेठ– केहीबेर हावाहुरीसहित वर्षात हुँदा रोकिएको हवाइ उडान फेरी सुरु भएको छ । मंगलबार बिहान काठमाण्डु उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।
हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको एक अधिकारीले जानकारी दिएका छन ।
‘अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छन्’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ।
अर्यालका अनुसार केहीबेर ठूलो मात्रामा वर्षा भइसकेपछि काठमाण्डु उपत्यकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । ‘विकसित प्रणाली अहिले उत्तरपूर्वी भागतिर सरिसकेकाले अवस्था नर्मल नै छ’, उनले भने ।
यद्यपि, मेघ गर्जनसहित हावाहुरी गराउने प्रणाली उत्तरपूर्वी भूभागतिर सर्ने क्रममा हुँदा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।