काठमाण्डु, २२ जेठ– एमाले सचिव एवं सांसद योगेश भट्टराईले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले यहाँको सभ्यतामाथि धावा बोलेको दाबी गरेका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकपछि बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन । उनले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको बताएका हुन । उनले भने, ‘ काठमाण्डु महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए ।
त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाण्डु महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो ।
सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’ उनले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन् ।
‘ काठमाण्डु महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ।
बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने ।