काठमाण्डु, २१ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सोमबार दोस्रो पटक भेटवार्ता भएको छ ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको बताइए पनि नेताहरूले मुख खोलेका छैनन् ।
बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबिच करिब तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग प्रचण्ड र ओलीले भेटवार्ता गरेका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेट भएको थियो । त्यसअघि प्रचण्ड र माधवबिच भेटवार्ता भएको थियो ।
प्रचण्ड देउवा र ओलीबिचको बालुवाटार छलफललगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबिच पुनः भेट भएको स्रोतले जानकारी दिएको छ ।