हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ: ज्ञानबहादुर शाही

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने धारण राखेका छन ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आ.व. ०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन ।

उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताएका छन ।

उनले चैत मसान्तसम्म हिउँका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको बताएका छन ।

शाहीले हिमाली जिल्लाहरूको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुनसक्ने बताए । उनले भने– ‘सक्नुहुन्छ भने अर्थमन्त्रीज्यू , तपाईँलाई म अनुरोध गर्न चाहन्छु, हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाइदिनुस् ।

किनभने तपाईंहरुले अहिले असारबाट ल्याएको बजेट हिमाली जिल्लामा असोजबाट पैसा आउँछ कार्यान्वयनमा जान्छ । कार्तिकको १५ गतेदेखि हिमाली जिल्लामा काम गर्न सक्दैनौँ ।

किनभने हिउँ पर्छ । चैत मसान्तसम्म हिउँ पर्छ । वैशाख, जेठ साढे दुई महिना मात्रै काम गर्ने बित्तिकै आर्थिक वर्ष सकिन्छ । आएको पैसा सबै खर्च गर्न नसकेर फिर्ता भएको छ । अर्थमन्त्रीज्यूले यो हिम्मत गर्नुपर्यो । हिमाली जिल्लाहरूका लागि आर्थिक वर्ष अर्कै बनाउनुपरयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us