बजेट निर्माणमा सत्ता साझेदार दलसँग छलफल गरेको भए अझै राम्रो हुने थियो: एमाले

काठमाण्डु टुडे २०८१ जेठ २० गते १७:०२ मा प्रकाशित

काठमाण्डु, २० जेठ– पूर्व अर्थमन्त्री एवं एमालेका सांसद विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूसँग छलफल गरेको भए अझै राम्रो बजेट ल्याउन सकिने बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि सुरु भएको छलफलमा बोल्दै पूर्वअथृमन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले बजेट निर्माणका क्रममा आफ्नो पार्टीसँग छलफल नगरेकोमा सांकेतिक रूपमा असन्तुष्टि जनाएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘अर्थमन्त्रीज्यू बजेट निर्माणका क्रममा यति व्यस्त हुनुभयो कि सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्न भ्याउनुभएन, ‘अहिलेको बजेट राम्रो हुँदाहुँदै पनि छलफल गरेको भए अझ राम्रो हुने थियो ।’

उनले ६ प्रतिशतको आर्थिक वृद्धि, बजेटमा कृषिमा लगानी दशक लगायतका विषय राम्रा भएपनि कृषिको बजेट घटेको भन्दै त्यसमा अर्थमन्त्रीले ध्यान दिने विश्वास व्यक्त गरेका छन ।

छलफलका क्रममा नेता पौडेलले बजेट निर्माणमा अर्थमन्त्रीले जोखिम उठाएको र सो जोखिम समाधान गर्न पनि तत्पर रहनुलाई सकारात्मक रूपमा लिएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us