काठमाण्डु, २० जेठ– एमालेका सांसद दामोदर पौडेल वैरागीले प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीमाथि कांग्रेस सांसदको दुर्व्यवहार र सभामुखप्रति गरेको व्यवहारले संसद्को गरिमा घटाएको बताएका छन ।
आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा लिएर ब बोल्दै सांसद वैरागीले यस्तो बताएका हुन । उनले अध्यक्ष ओलीमाथि भौतिक आक्रमण गर्ने गरी आएको र अपशब्द बोल्ने काम भएको दाबी गरेका छन ।
सांसद पौडेलले सदन कसले किन अवरुद्ध गर्यो ? के मागलाई लिएर अवरुद्ध भयो ? कति अवरुद्ध भए ? ती अवरुद्ध भएका बेला के के सदनमा उठ्नुपर्ने कुराहरू, जनताका उठाउनुपर्ने के के कुराहरू नोक्सान भएरु भन्ने कुरा सबैले बुझेको बताएका छन ।
उनले भने, ‘हामीले सांसदका दृश्य हेर्यौँ, संसदमा नियम हुन्छ, कानुन हुन्छ, सभामुखले दिएको समयलाई दयाको भिखको समय चाहिँदैन भनेर सभामुखप्रति अपशब्द बोलेको पनि हामीले सुन्यौँ । यसले सदनको गरिमालाई कायम राख्यो कि बढायो, त्यो कुरालाई स्वमूल्याङ्कन गर्नुपर्ने विषय छ ।’
उनले अगाडि भने, ‘त्यति मात्र होइन, सत्ता साझेदार दलको मुख्य नेतामाथि नै भौतिक आक्रमण गर्न आए जसरी अपशब्द बोल्ने काम पनि गरियो । यसले पनि हाम्रो सांसदलाई कतिको गरिमामय बनायो भन्ने विषयको पनि हामीले लेखाजोखा गर्नु नै पर्नेछ ।’