प्रधानमन्त्रीसँग भर्खर संवाद गरेर आएको छु, छलफल सकारात्मक छ: माधव नेपाल

काठमाण्डु टुडे २०८१ जेठ २० गते १४:३७ मा प्रकाशित

काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता र संवाद जारी रहेकाले मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी रहेको बताएका छन ।

यद्यपि उनले मधेसमा जसपा विभाजनपछि समस्या आएको भन्दै आफूहरू अहिलेसम्म पहिलाको सहमति अनुसार नै सरकारमा रहेको बताएका छन ।

उनले भने, ‘वार्ता र संवादहरू भइरहेका छन् । ती वार्ता र संवाद सकारात्मक छन्, ‘अहिले भर्खर पनि म प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर यहाँ आएको छु ।

तर अन्तिम निर्णय गर्न बाँकी नै छ ।’ उनले वार्ता र संवाद सकारात्मक भए पनि मधेस प्रदेश सरकारबारे अन्तिम निर्णय गर्न बाँकी नै रहेको बताएका छन ।

उनले आफूहरू केन्द्र सरकारमा पनि रहेको भन्दै मधेसमा पनि पहिलादेखि नै सरकारमा रहेको निरन्तरता भएको बताएका छन ।

उनले भने, ‘अस्ति मात्र एमाले र माओवादी केन्द्रसँग वार्ता र संवाद भयो । वार्ताको क्रम चलिरहेको छ । भर्खर मात्र प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आएको छु’, उनले त्यही क्रममा केही दिनअघि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवासमा पनि अन्य दलका नेतासँग कुराकानी भएको बताएका छन ।

देउवासँगको छलफल गर्ने क्रममा आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले छलफल गरे पनि कमिटमेन्ट नगर्न भनेकाले कमिटमेन्ट नगरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us