
काठमाण्डु, १७ जेठ– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गरेका छन् ।
अध्यक्ष नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीको जिज्ञासामा विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’
माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । प्रचण्डले विहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने दाबी गरेका छन ।
उनले भने, ‘ उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्को गठबन्धन बन्ने सम्भावना नरहेको दाबी गरेका छन ।