
काठमाण्डू, २५ असार– विशेष अदालतले काठमाण्डू महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सह–सचिव प्रदीप परियारलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बुधबार परियारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै महानगरअन्तर्गतको बोलपत्र मूल्यांकन समितिका निर्देशकद्वय वसन्त आचार्य र नमराज ढकाल जनही ५०–५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।
सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्का दिँदा आपसी मिलेमतोमा ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित त्यति नै बिगो जरिवाना कैल सजायको माग गर्दै गत २८ जेठमा विशेषमा मुद्दा दायर गरेको थियो ।
परियार काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का निकट विश्वासपात्र मानिन्छन् । उनलाई बालेनले छानेर प्रमुख प्रशासकीय अधिकृत लगेका थिए । मुद्धा दायर हुँदा परियार सूचना तथा प्रसारण विभागका महानिर्देशक थिए ।