झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु, स्कुटर चालकका बुहारी र नाती गम्भीर घाइते

काठमाण्डु टुडे २०८२ असार २५ गते २१:१२ मा प्रकाशित

झापा, २५ असार– झापामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित भित्री सडक खण्डमा बी आर ३७ ए जेड ६४४० नम्बरको भारतीय मोटरसाइकल र विपरीत दिशामा रहेको प्र१–०१–०१६प ९२७० स्कुटर बुधबार आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र परिचय खुल्न बाँकी रहेका मोटरसाइकल चालकको मृत्यु भएको हो ।

गम्भीर घाइते उनीहरुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ज्यान गएको हो ।

स्कुटरमा सवार मृतक राजवंशीकी बुहारी २७ वर्षीया उर्मिला र उनका छोरा तीन वर्षीय आयुष राजवंशी घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । उनीहरूको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us