
काठमाण्डु, ५ वैशाख– ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ। मंगलबार राति भएको वर्षाका कारण खेल ढिलो गरी हुँदा ओभर घटाइएको छ ।
ओमानमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाली टिममा एक परिवर्तन गरिएको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई खेलाइने भएको छ ।
नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ । मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।
समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक रहेको छ । दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोड्न सफल भएको छ । साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २–२ अंक जोडेका छन्।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४–४ अंक रहेको छ ।
अहिलेको अवस्थामा नेपालले कुवेत वा युएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।