काठमाण्डु, २७ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ का परिवारले उनको हत्या भएको आरोपमा किटानी जाहेरी दिने भएको छ ।
महानगरीय प्रहरी परिसर हनुमानढोकामा आज उजुरी दिन लागिएको उनका दाजु ध्रुव अधिकारीले काठमाण्डु टुडेलाई जानकारी दिए ।
चरीका परिवारको एक नम्बर सूचीमा गृहमन्त्री बामदेव गौतम छन् । गौतमले शुक्रबारको संसद बैठकमा जवाफ दिने क्रममा चरी प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएको बताएका थिए ।
यस्तै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, महानगरी आयुक्त कार्यालय प्रमुख नायव महानिरीक्षक विज्ञानराज शर्मा, काठमाण्डु प्रहरी प्रमुख एसएसपी उत्तमकुमार कार्की, अपराध महाशाखा प्रमुख एसएसपी पुष्पकर कार्की, प्रहरी नायव उपरीक्षक मिरा चौधरी र निरीक्षक कुमुद ढुंगेललगायत विरुद्ध मुद्धा दायर गर्न लागिएको अधिकारीले बताए ।
हनुमानढोकामा उजरी दर्ता नभए सर्वोच्च अदालत जाने तयारी भइरहेको अधिकारीले जानकारी दिए । ‘भाइको हत्याविरुद्ध हामी हनुमानढोकामा उजुरी दिन्छौं’, अधिकारीले भने, ‘यदि उजुरी दर्ता गर्न मानिएन भने सर्वोच्च अदालत जान्छौं ।’
प्रहरीको फरार सूचीमा रहेका चरीको केही दिनअघि काठमाण्डु र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । प्रहरीले गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली प्रहार गरेकाले जवाफी कारबाहीमा उनी मारिएको बताएको छ । तर परिवारले भने प्रहरीको दाबी अस्वीकार गर्दै गैरन्यायिक हत्या गरिएको बताउँदै आएको छ ।