प्रहरीलाई मान्छे मार्ने अधिकार छैन : थापा

काठमाण्डु टुडे २०७१ साउन २६ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, २६ साउन – वरिष्ठ अधिवक्ता शम्भु थापाले कुनै पनि नाममा प्रहरीलाई मान्छे मार्ने अधिकार नभएको भन्दै दिनेश अधिकारी हत्या काण्डको निष्पक्ष छानविन हुनु पर्ने माग गरेका छन् ।

shambhuदिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले प्रहरीलाई इन्काउण्टर गर्ने अधिकार नभएकोले यो घटनामा संलग्न भएको प्रहरी अधिकारी र घटनाको सम्बन्धमा निष्पक्ष छानविन आयोग गठन गर्नुपर्ने बताए ।

दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिका संयोजक ध्रुव अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा थापाले शिक्षण अस्पतालमा कसैलाई पनि जान नदिने गरि लगाईएको बन्देज आफैमा शंकास्पद भएको भन्दै अधिकारी हत्या अघिको पूर्व अवस्था र पोष्टमार्टमको रिपोर्टको यथार्थ बाहिर ल्याउनु पर्ने माग गरे ।

उनले अधिकारी हत्या प्रकरणले प्रहरी जनता विरुद्ध प्रयोग हुन थालेको स्पष्ट भएको भन्दै अधिकारीको अप्राकृतिक मृत्यु भएको कुरा स्वयम गृहमन्त्रीको बक्तब्यबाट समेत पुष्टि भईसकेको दावी गरे ।

थापाले अधिकार हत्याको छानविन गर्न बार एसोसिएसन, पत्रकार महासंघ र मानवअधिकार आयोगका पूर्वपदाधिकारीहरुको संयूक्त टोली बनाउनु पर्नेमा समेत जोड दिए ।

थापाले ०६२–६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई पनि यो घटनावारेमा सत्य तथ्य बाहिर ल्याउन सहयोग गर्न आग्रह गरेका थिए ।

खिलराज रेग्मी प्रधानमन्त्री भए देखिनै गैरन्यायिक हत्या बढेको भन्दै यो घटना प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग जोडिएको दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us