काठमाण्डु, २६ साउन–लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
श्रेष्ठको पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाए । नेपाल प्रहरीको १० जनाको टोलीले अन्तिम सलामी अर्पण गरेको थियो ।
सोमबारै एयर इण्डियाको जहाजबाट नेपाल ल्याइएको श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा भवनमा राख्ने भनिए पनि समर्थकको चर्को भिडभाडका कारण त्यहाँ राखिएन ।
श्रेष्ठप्रति अन्तिम श्रञाञ्जली व्यक्त गर्न सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, काँग्रेस नेता अर्जुननरसिंह केसी, एमाले नेता केशव बडाल, एमाओवादी महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य अग्नि सापकोटा, राप्रपा अध्यक्ष पशुपतिसम्शेर राणा, अभिनेता निर शाह, राजेश हमालसहितका सयौं चलचित्रकर्मी, आफन्त, शुभेच्छुक र सर्वसाधारण फूलको गुच्छा बोकेर प्रज्ञा प्रतिष्ठान पुगेका थिए ।
त्यसअघि उनको शव अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, बबरमहल माइतीघर हुँदै प्रज्ञाप्रतिष्ठान पुर्याइएको थियो ।
सयभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका ४७ वर्षीय श्रेष्ठको बोनम्यारो क्यान्सरका कारण नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।