काठमाण्डु, २५ साउन– सिन्धुपाल्चोकको जुरे पहिरोले थुनिएको अरनिको राजमार्ग खुलाउन आफ्नो सेनाको प्राविधिक टोली पठाउन चीनले गरेको प्रस्ताव सरकारले अस्वीकार गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त कामका लागि कुनै पनि मुलुकको सहयोग नलिने निर्णय गर्दै चिनियाँ प्रस्ताव कूटनीतिक भाषामा अस्वीकार गरेको हो ।
मन्त्रिपरिषदले पहिरोस्थलमा बाटो खोल्ने र वैकल्पिक सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको आग्रहमा पहिरोग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा उद्धार तथा निर्माणका लागि छिमेकी मुलुक चीन र भारतलाई सहयोगका लागि पत्र पठाइएको विषयलाई सेनाले आपत्ति जनाएको थियो ।
आफैं सक्षम हुँदाहुँदै छिमेकीलाई हतारहतार सहयोगका लागि पत्र पठाइएकोमा सैनिक नेतृत्वबाट असहमति व्यक्त भएको मन्त्रिपरिषद स्रोतले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट