काठमाण्डु, २५ साउन–आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको
गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै ९यज्ञोपवित० फेर्ने चलन छ ।
जनैपूर्णिमाका तीन पक्ष रहेका छन्ः यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी । हिन्दु दर्शनअनुसार जनैलाई ुब्रह्मसूत्रु अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ ।
विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् । ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ ।
येनबद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल।।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊु भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ ।
मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) उक्त मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन्।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ ।
आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।
आज काठमाण्डुको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र सप्तऋषि, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु, रामेछापको पाँचपोखरी, सिन्धुपाल्चोकको दुधपोखरी, लमजुङ–मनाङ–कास्कीको दोभानमा रहेको त्रिवेणी, बाजुराको बडीमालिका, त्रिवेणी लगायतका स्थानमा पवित्र स्नान गरी महादेवको पूजाअर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।
आजको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ। यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ।
नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइने परम्परा छ।
विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएको जनविश्वासअनुसार आजक दिन भ्यागुताको पूजा गर्ने प्रचलन छ।