संसदमा एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडिरहेको छ: केपी ओली

काठमाण्डु टुडे २०८० फागुन १८ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताएका छन ।

आज शुक्रबारबाट काठमाण्डुको राष्ट्रिय सभा गृहमा शुरु भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले संसदमा पनि नभएको र पार्टी पनि नभएको व्यक्ति असार १५ गते प्रधानमन्त्री हुन्छु भन्दै हिँडिरहेको दाबी गरेका छन । ओलीले संसदमा नभएको व्यक्तिलाई प्रधानमन्त्री बन्न मिल्ने प्रावधान संविधानमा नरहेको दाबी गरेका छन । उनले भने, ‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ, को हुँदैन भन्न सकिने अवस्था छैन ।

यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे, असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ । संविधानमा त्यस्तो कुनै व्यवस्था छैन । कानूनमा व्यवस्था छैन, केही व्यवस्था छैन । के सपना देख्छ को मान्छेले भन्न सकिँदैन’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us