काठमाण्डू टावरको निर्माण नरोक्न महानगरलाई उच्च अदालत पाटनको आदेश

काठमाण्डु टुडे २०८२ असार २५ गते १७:०४ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिकालाई उच्च अदालत पाटनले पुरानो बसपार्कस्थित काठमाण्डू टावरको निर्माण नरोक्न अन्तरिम आदेश गरेको छ । टावरको निर्माण रोक्ने काठमाण्डू महानगरपालिकाको निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटन गएको थियो ।

९ माघ, २०८१ मा काठमाण्डू महानगरपालिकाले पत्र पठाई काठमाण्डू टावरको निर्माण रोक्न आदेश दिएको थियो । न्यायाधीश प्रकाश खरेलको इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्ने बाटो खुलेको छ ।

उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट अनुमती लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृती लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो ।

भवन निर्माणलाई निरन्तरता दिनु उचित हुने र त्यसमा ठेकेदारको वैध अपेक्षा पनि रहने भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us