ओलीका अगाडि प्रधानमन्त्रीविरुद्ध यसरी खनिए एमाले मन्त्री

काठमाण्डु टुडे २०७१ साउन २४ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २४ साउन–  वर्तमान सरकारमा रहेका एमालेका मन्त्रीहरु प्रधामन्त्री सुशील कोइरालाविरुद्ध खनिएका छन् ।

bamdevअध्यक्ष कपी ओलीलाई सरकारको कामकारबाहीबारे जानकारी गराउन शनिबार ओली निवास बालटोट पुगेका एमालेका ६ मन्त्रीले प्रधानन्त्रीको कार्यशैलीको तीव्र आलोचना गरेका हुन् ।

छलफलमा पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले सरकारमा प्रधानमन्त्रीको भूमिका नकारात्मक रहेको बताए । गठनबन्धन सरकारको प्रधानमन्त्री भन्ने कुरा बिर्सेर कोइरालाले आफूखुसी निर्णय लिने गरेको उनको आरोप थियो ।

‘प्रधानमन्त्रीमा गठबन्धनको संस्कार नै देखिएन’, गौतमले भने, ‘काँग्रेसको एकलौटी सरकार चलाएजस्तो कार्यशैली छ ।’
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका लागि प्रक्रिया अघि बढाए पनि प्रधानमन्त्रीको असहयोगले काम गर्न नसकेको गुनासो गरे ।

यस्तै स्वास्थ्यमन्त्री खगराज अधिकारीले वीर अस्पतालमा देखिएको समस्या समाधानका लागि प्रधानन्त्री र काँग्रेसका मन्त्रीहरुले सहयोग नगरेको बताए । उनले समस्या पदाधिकारी नियुक्ति गरेर समस्या समाधानका लागि आफू अग्रसर हुँदासमेत अगाडि नबढ्न दबाब दिएको भन्दै आक्रोश पोखे ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी ग्रिनकार्ड र डिभीबाहक कर्मचारीमाथि कारबाही गर्न प्रधानमन्त्री र काँग्रेसका मन्त्रीले रोकेको र विधेयकमा असहो गरेको जानकारी गराए । उद्योगमन्त्री कर्णबहादुर थापाले आफूले बन्द उद्योग सुचारु गराउने प्रयास गरे पनि प्रधानमन्त्री र काँग्रेसका मन्त्रीले सहयोग नगरेको बताए ।
सबैको कुरा सेनेपछि ओली पनि प्रधानमन्त्रीविरुद्ध खनिएका थिए । उनले काँग्रेसले एमालेलाई सहयात्रीको भन्दा सहयोगी ठानेको भन्दै त्यसको परिणाम राम्रो नहुने बताए । एमालेसँगको सहकार्यलाई सकारात्मक ढंगले अघि बढाउन नसके त्यो काँग्रेसका लागि दुर्भाग्य हुने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us