
काठमाण्डु, १७ फागुन– संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन् । निषेधित क्षेत्र तोडेर सङ्घीय संसद् भवनमा प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले आज बिहिबार रिहा गरेको हो ।
गत १४ फागुनमा नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रहरीले ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो । सार्वजनिक शान्ति विरुद्धको कसुरमा थुनामा रहेका ४९ जनालाई रिहा गरिएको उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।
घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य रहेका छन ।