क्यूआरबाटै काठमाण्डु सम्पदाबारे जानकारी लिन सकिने

काठमाण्डु टुडे २०८० फागुन १७ गते १८:३४ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– काठमाण्डु महानगरपालिका भित्र रहेका सम्पदाबारे क्यूआर कोड मार्फत नै रहेका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ ।

महानगरले नन्दिकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने गरी क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरुले प्रविधिको प्रयोगमार्फत नै सम्पदाबारे जानकारी पाउन सहज होस् भन्ने उदेश्यले क्यूआर सेवाको थालनी गरिएको– १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘घुम्न आउनेले स्मार्ट फोन बोकेकै हुन्छन् ।

क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कार लगायत विविध विष्षय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’ वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार ‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरु विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउँछन् ।

उनीहरुलाई जानकारी सजिलो होस् भनेर प्रयोगका रुपमा अहिले दुई वटा मन्दिर र एउटा महाविहारको चिनारी क्यूआर कोडमा राखेका हौं ।’ वडाले द सारङ्‍गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो ।

नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरेबिक गरी १० भाषामा क्यूआर कोडको प्रयोग गरी अडियो मार्फत सम्पदाबारे जानकारी लिन सकिने महानगरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us