मोदीका अगाडि मुसा बन्नेले राष्ट्रियता सिकाउनु पर्दैन: शेर्पा

काठमाण्डु टुडे २०७१ साउन २४ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २४ साउन– सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले पहिचान माग्दा आफूहरुमाथि जातिवादी आरोप लगाइने गरेको भन्दै pasang sherpaजनजातिलाई राष्ट्रियताको पाठ नसिकाउन चेतावनी दिएका छन् ।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाले विश्व आदिवासी जनजाति दिवसका अवसरमा राजधानीमा शनिबार भएको कार्यक्रममा मुलुकको नदी नाला बेचेर खाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा भिजेको मुसाजस्तो हुनेले आफूहरुलाई राष्ट्रियताको पाठ पढाउन जरुरी नरहेको बताए ।

‘हामीलाई यो धर्तीको माया छ’, शेर्पाले भने, ‘नदी बेचेर खाने र भारतीय प्रधानमन्त्री आउँदा भिजेको मुसाजस्तो बन्नेले हामीलाई राष्ट्रियताको पाठ सिकाउन पर्दैन ।’ उले पहिचानसहितको संघीयताका लागि ज्यान दिन तयार रहेको बताए । पहिचानको लडाईंमा जनजाति, मेधेसी र दलित समुदाय एकताबद्ध भएर मैदानमा उत्रने चेतावनी दिए ।
कण्डम दिवसमा जाने राष्ट्रपति यहाँ किन आएनन् ?
जनजाति दिवसको कार्यक्रममा नआएको भन्दै शेर्पाले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाप्रति आक्रोश पोखेका छन् । आयोजकले निम्ता दिए पनि अनादरपूर्वक अस्वीकार गरेको भन्दै शेर्पा यादव र कोइरालाविरुद्ध खनिए ।

कण्डम दिवस र नारायणपूजामा समेत पुग्न भ्याउने राष्ट्रपति र प्रधानमन्त्री नआएर नेपालका लाखौं आदिवासी जनजातिको अपमान गरेको आरोप शेर्पाले लगाए ।

‘तपाईहरुलाई कण्डम दिवस र सत्य नारायण पूजामा जान फुर्सद हुन्छ’ जनजातिको कार्यक्रममा आउन किन समय भएन ?’ शेर्पाले भने, ‘निम्ता पठाइएका राष्ट्रपति र प्रधानमन्त्रीबाट जनजातिहरुको ठूलो अपमान भएको छ ।’  उनले राष्ट्रपति र प्रधानमन्त्री दुवै जनजाति समुदायप्रति पूर्वाग्रही भएको आरोपसमेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us