काठमाण्डु, २४ साउन– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी विवाद मिलाउन पहल सुरु गरेका छन् ।
उनले शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईलाई छुट्टाछुट्टै भेटेर विवाद समाधान गरी पार्टी एकता बचाउन आग्रह गरे ।
भट्टराईलाई उनकै निवास सानेपामा भेटेर श्रेष्ठ प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । श्रेष्ठले दुवै नेतासँग सकारात्मक छलफल भएको बताए ।
‘मैले विवाद समाधान गरेर पार्टी एकता बचाएर रुपान्तरणका साथ अघि बढ्ने उद्देश्यले दुवै नेतासँग छलफल गरेको हुँ’, श्रेष्ठले काठमाण्डु टुडेसँग भने, ‘छलफल सकारात्मक भएको छ ।’ उनले केही दिनभित्रै पार्टी विवाद समाधान हुने दाबी गरे ।
विभिन्न जिल्लामा समानान्तर कमिटि गठन गरेको आरोपमा स्थायी कमिटीले भट्टराई पक्षधर पोलट्ब्यिुरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन र रामरिझन यादवलाई एक महिना निलम्बन गरेपछि एमाओवादी विवाद उत्कर्षमा पुगेको छ ।
यसैबीच अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच विवाद समाधानको प्रयासमा छलफल भएको छ । प्रचण्ड भेट्न भट्टराई लाजिम्पाट पुगेका छन् । दुई नेताबीच विवाद मिलाउने प्रयासमा शुक्रबार पनि छलफल भएको थियो ।