
सिन्धुपाल्चोक, १२ फागुन– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजार क्षेत्रमा सार्वजनिक जमिन मिचेर बनाइएका संरचना भत्काउन थालेको छ ।
नगरपालिकाले मुख्य सडकको दाँयाबाँया निर्माण गरिएका अस्थायी संरचना एवं घरटहरा हटाउन शनिबार डोजर चलाएको हो । नगरपालिकाले यसअघि ३५ दिने सूचना जारी गरे पनि अटेर गरी नहटाइएका कारण डोजर चलाइएको नगरपालिकाले जनाएको छ ।
अवैध संरचना हटाउन हटेरी गरेका कारण डोजर चलाइएको मेलम्ची–११ का वडाअध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बमोजिम ती संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च घर धनीबाट असुलउपुर गरिने नगरपालिकाले जनाएको छ ।
गत २६ पुसमा बसेको कार्यपालिका बैठकले सडक अतिक्रमण गरी बनाइएको अवैध संरचना हटाउने निर्णय गरेको थियो ।