
काठमाण्डु, ७ फागुन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि व्यक्तिगत बदलाको भावना राखेर बालकुमारी घटनासम्बन्धी प्रतिवेदन तयार पार्न लगाएको आरोप लगाएका छन् ।
मन्त्री ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग श्रेष्ठले आफूमाथि बदलाको भावना राखेको भन्दै प्रतिवेदनमा उल्लेख विषयमा विश्वास नगर्न भनेका हुन् । त्यसो त ज्वालाको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रधानमन्त्रीलाई भेटेर प्रतिवेदन पूर्वाग्रही भएकाले त्यसको निस्कर्षमा सहमत हुन नसकिने बताइसकेका छन् ।
आइतबारको मन्त्रिपरिषद बैठकमा मन्त्री ज्वालाले प्रतिवेदन आफूले पनि बढ्न पाउनुपर्ने माग राखेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उनीमाथि झम्टिएका थिए । दुई बीच केहीबेर विवाद भएपछि अर्का उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्वालाको बचाउ गर्दै श्रेष्ठको प्रतिवाद गरे । बैठकको वातावरण असहज भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपरेको थियो ।
बालकुमारी घटना छानबिन गर्न सरकारले सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोग गठन गरेको थियो ।
उक्त आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा बालकुमारी घटनामा गोली चल्दा दुई युवकको मृत्यु हुनुमा मन्त्री ज्वालाको मुख्य कमजोरी रहेको उल्लेख छ । गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेका बेला ज्वाला सोही बाटो भएर आउने क्रममा युवाले उनी सवार गाडी जलाएका थिए ।
आयोगको प्रतिवेदनमा प्रदर्शन भएको जान्दाजान्दै ज्वाला सोही बाटो भएर गएका कारण घटना भएको औंल्याइएको छ । तर, ज्वाला भने सो कुरा स्वीकार गर्न तयार छैनन् । उनले आफ्नो कारण घटना नभएको भन्दै त्यसको जिम्मेवारी गृहमन्त्री र प्रहरी नेतृत्वले लिनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीलाई ज्वालाले के भने ?
श्रोतका अनुसार मन्त्री ज्वालाले प्रतिवेदनमा आफूमाथि प्रतिशोध साँध्नुमा चाँचबुझ आयोका सदस्यसमेत हरेका गृह प्रवक्ता भट्टराई र मन्त्री श्रेष्ठको सम्बन्ध कारण रहेको दाबी गरेका छन् । आफू भौतिक पूर्वाधार मन्त्री भएपछि नक्कली सवारी चालक अनुमतिपत्र दिलाउने काममा संलग्न रहेको भन्दै भट्टराईमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सआईबी) लाई पत्राचार गरेका कारण भट्टराई र श्रेष्ठले बदला लिएको दाबी ज्वालाको छ ।
ज्वालाअघि उक्त मन्त्रालयको नेतृत्वमा श्रेष्ठ थिए । श्रेष्ठले आफू भौतिक पूर्वाधार मन्त्री भएका बेला भट्टराईलाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । ज्वालाले नक्कली लाइसेन्स वितरण मात्र गरेको नभई चालक अनुमतिपत्र नभएका एउटा मोटरसाइकल चालकले पैदलयात्रीलाई ठक्कर दिएर मारेको र घटनापछि दोषी उम्काउन भट्टराईले पुरानै मितिमा चालक अनुमतिपत्र बनाइदिएको आरोपसमेत लगाएका छन् ।
‘मोटरसाइकलले हानेर मान्छे मारेपछि उसलाई जोगाउन पुरानो मिति राखेर लाइसेन्स जारी गरेको विषयमा मैले कारबाही गर्न अख्तियार र सीआईबीमा लेखेर पठाएको थिएँ’, ज्वालाले प्रधानमन्त्रीसँग भने, ‘त्यही बदला लिन गृहमन्त्री र सहसचिव भट्टराईले नियतबस मेरोविरुद्धको प्रतिवेदन तयार पार्नुभयो ।’
प्रतिवेदनबारे समाचार सार्वजनिक भएपछि ज्वालामाथि नैतिकताका आधारमा सरकार छाड्नुपर्ने दबाब बढेको छ । प्रतिनिधिसभा बैठकमा आइतबार एमाले सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ज्वालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए । जवाफमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन आइतबार आफूले बुझ्ने र अध्ययनपछि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।