काठमाण्डु, २३ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी चरीको विषयलाई लिएर एमाले शीर्ष नेतृत्वतहमा चर्को
विवाद भएको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकमा केही नेताले पार्टी नेतृत्वले डन प्रवृत्तिलाई संरक्षण गरेका कारण चरीको हत्या भएको आरोप लगाए ।
विगतमा नियन्त्रणमा लिने बित्तिकै छुटाउन दबाब दिने गरिएको भन्दै ती नेताले यसपटक पनि पक्रेर राख्दा छुटाउन दबाब दिने ठानेर प्रहरीले मारेको आरोप लगाए ।
‘चरी हतियार र गैंडाको खागसहित समातिएका बेला छुटाउने हाम्रै नेता हुन्, ‘पदाधिकारीमा रहेका एक नेताले काठमाण्डु टुडेसँग भने,‘समातेर राख्छा फेरि दबाब आउँछ भन्ने ठान्यो, प्रहरीले गोली ठोकिदियो ।’
चरी प्रकरणलाई लिएर चर्किएको विवादका कारण शुक्रबारका लागि बोलाइएको पदाधिकारी बैठक बस्न सकेन । ओली पक्ष चरी घटना नियोजित भएकाले घटनामा संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने पक्षमा छ ।
अर्को पक्ष भने गुण्डागर्दी गर्नेलाई राजनीतिक संरक्षण गर्न नहुने अडानमा छ । स्रोतका अनुसार अर्को पक्षको नेतृत्व उपमहासचिव घटश्याम भुसालले गरेका छन् ।