काठमाण्डु, २३ साउन– उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएका छन् ।
व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा सभासदहरुले उठाएका प्रश्नको जवाफमा गौतमले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा ‘चरी’ मारिएको बताएका हुन् ।
बिहीबारको बैठकमा एमाले सभासदहरुले चरीलाई कथित मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै सरकारसँग जवाफ मागेका थिए ।
‘ भीमढुंगा हुँदै धादिङ जान लागेको सूचनाका आधारमा प्रहरीले पक्राउ गर्न खोज्दा दिनेश अधिकारी ‘चरी’ ले प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा मारिएका हुन्’ गौतमले भने ।
उनले विभिन्न आपराधिक घटनामा संलग्न चरी प्रहरीको फरार सूचीमा रहेको बताए ।
गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै धादिङका एमाले सभासद् राजेन्द्रप्रसाद पाण्डेले घटना नियोजित रहेको दाबी गर्दै त्यत्तिकै नसकिने चेतावनी दिए ।