काठमाण्डु, २३ साउन – नेकपा एमाले धादिङ जिल्ला कमिटीले डन दिनेश अधिकारी ‘चरी’को हत्या सुनियोजित भएको दाबी गरेको छ ।
धादिङ एमाले जिल्ला कमिटी कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीले जारी गरेको विज्ञप्तिमा प्रहरीले ‘मोष्ट वाण्टेड’ सूचीमा राख्नुपर्ने चरीले कुनै गैरकानुनी काम नगरेको पनि स्पष्ट पारेका छन् ।
आफ्ना पूर्व क्षेत्रीय उपाध्यक्षसमेत रहेका चरीको हत्या प्रहरीको मिलेमतोमा भएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ – ‘ मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई गोली हानेको भन्ने कुरा आफैमा हास्यास्पद छ । ’
इन्काउण्टर भएको घटनामा छातीमा आठ गोली कसरी लाग्न सक्छ ? भन्ने प्रश्न गरेका छन् ।
चरीको ‘हत्या’ भएको र त्यसमा प्रहरी निरीक्षक कुमुद ढुंगेल संलग्न रहेको एमालेको आरोप छ । दिनेशकी प्रेमिका खुस्बु ओलीलाई मन पराएको भन्दै विज्ञप्तिमा भनिएको छ-’खुस्बुले पनि कुमुद र अपर्ण दुबैले आफूसँग विवाह गर्न चाहेको र आफूले इन्कार गरेपछि दिनेशको हत्या गर्ने धम्की दिएको बताएकी छिन् ।’
एमाले धादिङले घटनाको छानविन गर्न संसदीय वा न्यायीक समिति गठन गर्न माग गरेको छ । विज्ञप्तिमा चरीलाई ‘क. दिनेश अधिकारी’ भनिएको छ भने शोकलाई शक्तिमा बदल्दै दिनेशका हत्याराहरुलाई कठघरामा उभ्याउने पार्टी अभियान रहेको उल्लेख छ ।