प्रेमिकाकै कारण मारिए त चरी ?

काठमाण्डु टुडे २०७१ साउन २३ गते ४:०१ मा प्रकाशित

काठमाण्डु, २३ साउन– काठमाडौंमा चर्चा पाएका एक डनको बुधबार अवसान भएको छ, तर उनको मृत्युको कारणबारे अनेक प्रश्न उठेका छन् ।

khushbu

मोडल खुस्बु ओलीले अर्पण कोइराला नाम गरेका युवाको प्रेम अस्वीकार गरेका कारण आफ्ना प्रेमी दिनेश अधिकारीको हत्या भएको दाबी गरेकी छन् । तर, अर्पण कोइराला नामका एक युवकको प्रेमका लागि नेपालको प्रहरी संगठन र गृहमन्त्रालय दुरुपयोग भयो त ? गम्भीर प्रश्न यो पनि उठेको छ ।
चरीको मृत्यु कुनै ग्याङसँग होइन, नेपाल प्रहरीका वरिष्ठ अधिकारी नेतृत्वको कमान्डसँग भएको मुठभेडमा भएको हो । राजनीतिक रुपमा समेत सक्रिय चरीजस्ता डनको इन्काउन्टर प्रहरीको नेतृत्व र गृह मन्त्रालयको जानकारीबिना हुन नसक्ने प्रहरी स्रोतले बताएको छ ।
चरी गत पुसदेखि नै वान्टेड थिए । रशेम खरेल काठमाण्डु प्रहरी प्रमुख भएर आएपछि उनी भारत भागे । एसएसपी खरेलले इन्स्पेक्टर कुमोद ढुंगेलको कमान्डमा गुन्डा अपरेसनका लागि टोली बनाए । जसमा दुई सयभन्दा धेरै गुन्डागर्दीका नाइके पक्राउ परे ।
एसएसपी खरेलको खास निशानामा मोस्टवान्टेड रहेका रमेश बाहुन (सुजन पौडेल) र दिनेश अधिकारी चरी थिए । तर, लामो प्रयास गर्दा पनि उनीहरु समातिएका थिएनन् । प्रहरीले कुनै हालतमा नछाड्ने सुइँको पाएका बाहुन र चरी दुवै भारततिर लागे । बाहुन डेढ महिनाअघि भारतको लखनउमा पक्राउ परे भने खरेल काठमाण्डु प्रहरी प्रमुखबाट हटाइएलगत्तै चरी काठमाण्डु आए ।
चरी नेपाल आएर आफ्नो काम छाडेका थिएनन् । आफ्नै पार्टीले गृह मन्त्रालय सम्हालेका बेला पनि सहयोग नगरेको भन्दै उनले एमाले नेताहरुलाई पनि धम्क्याउन थालेका थिए । सोही क्रममा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी अपराध महाशाखाका एक डिएसपीको कमान्डमा उक्त अपरेसन दुई सातादेखि सुरु भएको थियो । त्यही क्रममा बुधबार दिउँसोदेखि नै उनलाई प्रहरीले पछ्याएको थियो । प्रहरीले भीमढुंगाको उकालोमा मुठभेड भएको जनाएको छ ।
तर, चरीका आफन्तले भने उनको हत्या भएको दाबी गरेका छन् । उनकी प्रेमीका खुस्बुले अर्पणले पठाएका धम्कीपूर्ण एसएमएस सार्वजनिक गरेकी छन् । ती एसएमएस एक वर्षअघि पठाएको देखिन्छ ।
प्रहरी स्रोतका अनुसार प्रहरी नरम भएको भए उनलाई गोली हानेर पक्राउ गर्नसक्ने सम्भावना थियो । ‘तर गृह मन्त्रालयबाट समेत इन्काउन्टरको अनुमतिपाएपछि प्रहरी पछाडि हटेन,’एक प्रहरी अधिकारीको दाबी छ ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us