काठमाण्डु, २३ साउन– एमालेले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विरोधमा धादिङ बन्द आह्वान गरेको छ ।
प्रहरीले चरीलाई पक्राउ गरी हत्या गरेर नक्कली मुडभेडमा मारिएको झुठो प्रचार गरको भन्दै एमाले सम्वद्ध युवा संघ, अनेरास्ववियु लगायत भातृ संगठनले जिल्ला बन्दको आश्वान गरेका हुन् ।
बन्दका कारण सदुमरकाम धादिङबाट काठमाण्डु आवत–जावत गर्ने कुनै पनि सवारी साधन चलेका छैनन् । यस्तै बजार–पसल र शिक्षण, संस्थासमेत बन्द छन् । बन्दको प्रभाव पृथ्वी राजमार्गमा भने परेको छैन ।

युवासंघ धादिङ अध्यक्ष अर्जुन गोरखालीले प्रहरीले गैरन्यायिक हत्या गरेकाले घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरिएको बताए ।
उनले प्रहरीलाई बर्दी लगाएर गुण्डागर्दी गरेकाले सबैले बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि आफूहरु आन्दोलित भएको उल्लेख गरे । उनले घटनामा संलग्न प्रहरीलाई तत्काल निलम्बन गरी छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्न माग गरे ।
प्रहरीको फरार सूचीमा रहेका चरीको बुधबार साँझ प्रहरीसँगको मुठभेडमा काठमाण्डुको भीमढुंगामा मृत्यु भएको थियो ।