काठमाण्डु, २३ साउन– पार्टी विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादी वैचारिक व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि अपराह्न बैठक बस्न लागेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
नेता बाबुराम भट्टराई पक्षले जिल्लाजिल्लामा समानान्तर कमिटी गठन गरेसँगै एमाओवादी विवाद चर्किएको हो ।
समानान्तर कमिटी बनाएको भन्दै स्थायी समितिले असन्तुष्ट बाबुराम भट्टराई पक्षका पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बन गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।
माओवादीले बिनाजानकारी तीनपटक भन्दा बढी बैठकमा सहभागी नभएको भन्दै भट्टराई पक्षकै टोपबहादुर रायमाझीलाई सचिव र देवेन्द्र पौडेललाई स्थायी समितिबाट केन्द्रीय सदस्यमा घटुवा गरेको थियो ।
भट्टराई पक्षले पार्टी विभाजन गराउने उद्देश्यले गरिएको नेताहरुमाथिको कारबाही तत्काल फिर्ता लिन माग गर्दै आएको छ । स्रोतका अनुसार नेता भट्टराई आजको बैठमा कडा रुपमा प्रस्तुत हुनेछन् ।
केही दिनअघि भट्टराई निवास सानेपामा बसेको सो पक्षका केन्द्रीय सदस्यहरुको भेलाले संस्थापन पक्षसँग वार्ता गर्ने जिम्मेवारी भट्टराईलाई दिएको थियो ।
विराटनगर राष्ट्रिय सम्मेलनयता अन्तरसंघर्ष चर्किएपछि एमाओवादीले एक महिनाअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेता भट्टराईसहित ६ सदस्यीय वैचारिक व्यवस्थापन समिति गठन गरेको थियो ।