काठमाण्डु, २३ साउन– सरकारको कामकारबाहीबारे समीक्षा गर्न एमालेले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग आज छलफल गर्दैछ ।

अपराह्न तीन बजेपछि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारीले सरकारका कामकारबाहीबारे मन्त्रीहरुसँग जानकारी लिन लागेकाे सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेमा पार्टीका मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि बढेकाबेला नेतृत्वले मन्त्रीहरुसँग छलफल गर्न लागेको हो ।
मन्त्रीहरुले भने सरकार नेतृत्वकर्ता काँग्रेसले एकतर्फी रुपमा निर्णय गर्ने गरेको कतिपय मन्त्रालयका काममा प्रधानमन्त्रीले सहयोग नगरेका कारण प्रभावकारी काम गर्न नसकेको बताउँदै आएका छन् । मन्त्रीहरुको धारणा बुझेपछि एमालेले सरकारबारे औपचारिक रुपमा निर्णले लिने बताइएको छ ।
‘पार्टीका मन्त्रीहरुले सरकार नेतृत्वकर्ताका कारण काम गर्न नसकिएको बताउनुभएको छ’, भट्टराईले भने, ‘सरकारका कामकारबाहीबारे समीक्षा गरी आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन्छ ।’
सरकार अगठअघि भएको सातबुँदे सहमतिअनुसार काँग्रेस राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्न तयार नभएको, सरकार सञ्चालनमा समन्वय नगरेको भन्दै अध्यक्ष केपी ओलीले सार्वनिक रुपमै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
यसैबीच बैठकमा प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रकरणबारे समेत एमालेले सरकारमा रहेका मन्त्रीहरुसँग जानकारी लिने भएको छ ।
सचिव भट्टराईले चरी प्रकरणका विषयमा समेत मन्त्रीहरुसँग जानकारी मागिले बताए । गृह मन्त्रालय आफ्नो पार्टीको नेतृत्वमा रहे पनि काँग्रेसको आडमा प्रहरीले चरी मारेको दाबी एमालेले गरेको छ ।
एमालेले चरीको मुठभेडमा नभई प्रहरीले नियन्त्रणमा लिएर गैरकानुनी हत्या गरेको दाबी गरेको छ । व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा एमाले सभासदहरुले नक्कली भिडन्तका नाममा चरी मारिएको भन्दै सत्यतथ्य छानबिन गरी घटनामा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका थिए ।